काठमाडाैं । वाणिज्य बैंकहरुले गत दुई महिनामा साढे १७ अर्ब भन्दा बढीकाे नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याँक अनुसार भदौ महिनासम्ममा बैंकहरुले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा कमाएका हुन्।
गत आर्थिक वर्षको पहिलो दुई महिनामा बैंकहरुले १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका थिए। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकहरुले १ खर्ब ४ करोडले नाफा बढाएका छन्।
भदौसम्मको तथ्याँक अनुसार नेपाल एसविआई बैंकले गत वर्षको तुलनामा सबैभन्दा धेरै नाफा बढाएको छ। गत आर्थिक वर्षको पहिलो २ महिनामा २७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ५३ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ जुन अघिल्लो वर्षको तुलनामा ९५ प्रतिशतले धेरै हो।
यसैगरी कृषि विकास बैंकले पनि ४४ प्रतिशतले नाफा बढाएको छ भने प्रभु बैंकले ३७ प्रतिशत, सानिमा बैंकले ३४ प्रतिशत, सिटिजन्स बैंकले ३३ प्रतिशत र स्ट्यान्डर्ड चाटर्ड बैंकले २५ प्रतिशतले नाफा बढाएका छन्।
२० वाणिज्य बैंकमा ६ वटा बैंकको भने नाफा घटेको छ। एनआइसी एशिया बैंकको नाफा २७ प्रतिशतले घटेको छ भने ग्लोबल आइएमई बैंकको १० प्रतिशत, कुमारी, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ प्रतिशतले घटेको छ।
बैंकहरु मध्य धेरै नाफा कमाउनेमा नबिल बैंक अगाडि रहेकाे छ । भदौ महिनासम्ममा बैंकले १ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ जुन वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै हो।
यता ग्लोबल आइएमई बैंक पनि १ अर्ब ५६ करोड रुपैयाँ नाफा कमाएर नबिलसँग प्रतिस्पर्धामा उत्रिएको छ। यता नेपाल एन्भेष्टमेन्ट मेगा बैंकले पनि १ अर्ब ४१ करोड नाफा कमाएको छ भने हिमालयन बैंकले १ अर्ब १६ करोड र कुमारी बैंकले १ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ।
यस बाहेक अन्य बैंकले भने १ अर्ब रुपैयाँभन्दा कम नाफा कमाएका छन्। अन्य मध्यम बैंकहरुमा पनि नाफामा चर्को प्रतिस्पर्धा देखिएको छ।
अर्थ सन्जाल