काठमाडाैं । प्राकृतिक विपत्तिमा पर्दा राहत उपलब्ध गराउने उद्देश्यले खडा गरिएका सरकारका राहत उद्धार कोषमा सवा तीन अर्ब रुपैयाँ मौज्दात छ । तर, हालसालैको बाढी–पहिरोको विध्वंसमा परेका पीडितहरू भने राहत नपाएर बिचल्लीमा परेका छन् ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमातहतको विपत् व्यवस्थापन कोष र बागमती प्रदेश सरकारअन्तर्गत प्रदेश विपत् व्यवस्थापन कोषमा तीन अर्ब ३३ करोड भए पनि हालसम्म १६७ मृतकका परिवारले मात्रै तीन करोड ३४ लाख रुपैयाँ राहत पाएका छन् ।
भौतिक संरचना क्षतिग्रस्त भएका परिवारको त विवरण नै तयार भएको छैन । आवास निर्माणका लागि भनेर ३३ जनालाई मात्रै पाँच लाख २५ हजार उपलब्ध गराएको तथ्यांक छ । ११ र १२ असोजको अविरल वर्षापछि आएको बाढी र पहिरोमा हालसम्म २४६ को मृत्यु भएको छ, १८ अझै बेपत्ता छन् । १७८ गम्भीर घाइते भएका छन् । हजारौँ परिवारको अर्बौँको भौतिक संरचना ध्वस्त भएको छ ।
प्राधिकरणका कार्यकारी अधिकृृत अनिल पोखरेलले बाढी र पहिरोका पीडितलाई राहत दिन कोषमा भएको सबै रकम जिल्लास्थित जिल्ला विपत् व्यवस्थापन कोषमा पठाइसकिएको, तर ७९ मृतकका परिवारका सदस्य सम्पर्कमा नआएकाले राहत वितरण नभएको दाबी गरे ।
‘बाढी र पहिरोमा परेर ज्यान गुमाएका २४६ जनामध्ये १६० मृतकका परिवारलाई राहत रकम उपलब्ध भइसकेको छ । बाँकी परिवारलाई भने विविध कारणले राहत दिन सकिएको छैन । सूचना प्राप्त भएअनुसार सम्बन्धित जिल्लाबाट मृतकका परिवारलाई सम्पर्कमा ल्याउने काम भइरहेको छ । राहत वितरणको काम दु्रत गतिमा अघि बढेको सूचना जिल्लाबाट छ,’ उनले भने । मृतकका परिवारलाई जनही दुई लाखका दरले उपलब्ध गराउने सरकारी व्यवस्थाअनुसार राहत वितरण भएको हो ।
पछिल्लो बाढी र पहिरोले काठमाडौं उपत्यकासहित काभ्रेपलाञ्चोक, मकवानपुर, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, धादिङमा ठुलो क्षति पुर्याएको छ । गाउँका बस्ती पहिरोमा पुरिएका छन् । नदीकिनारका बस्ती बगरमा परिणत भएका छन् । बाढी र पहिरोले हालसम्म क्षति पुर्याएको घरको यकिन विवरण संकलन नभए पनि विस्थापित हुनेको संख्या लाखभन्दा बढी भएको प्राधिकरण स्रोतले बतायो ।
प्राधिकरणको तथ्यांकअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले एक अर्ब ५२ करोड ८३ लाख ३५ हजार ६०७ रुपैयाँ मौज्दात छ । त्यस्तै, प्राधिकरणअन्तर्गतको विपत् व्यवस्थापन कोषमा एक अर्ब ६२ करोड र प्रधानमन्त्री उद्धार कोषमा १५ करोड २८ लाख जम्मा भएको छ । त्यसैगरी बागमती प्रदेश सरकारमातहतको विपत् व्यवस्थापन कोषमा चार करोड ४४ लाख मौज्दात छ । यसरी कुल रकम तीन अर्ब ३३ करोड कोषमा छ ।
अर्थ सन्जाल