काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ मा पहिरोमा परी ज्यान गुमाएका एन्फा वात्सल्यदेवी एकेडेमीका ६ जना खेलाडीका परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ ।
आइतबार बसेको आपतकालीन बैठकमा गत असोज १२ गते ज्यान गुमाएका मृतकका परिवारलाई ८ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।
खेलाडीहरू आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बॉनिया, अनुपम घलान र साईमन योञ्जन एकेडेमीबाट अन्यत्र जाने क्रममा बाटोमा पहिरोमा परी मृत्यु भएको थियो ।
खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा दुई लाख रुपैयाँको अक्षयकोष संघबाट खोल्ने र उक्त कोषमा अन्य शुभचिन्तकलाई सहयोग गर्नका लागि अनुरोध गर्ने पनि निर्णय भएको छ ।
यस्तै एन्फाले सञ्चालन गर्ने छात्र स्कुल प्रतियोगितालाई ६ खेलाडीहरूको स्मृतिमा सञ्चालन गरिने भएको छ ।
घटनाबारे सत्य तथ्य विवरण संकलन गरी यथार्थ प्रतिवेदन एक महिना भित्र पेश गर्ने गरी समिति गठन गरिएको छ । जसमा विकास नारायण श्रेष्ठ (एन्फा केन्द्रिय सदस्य) संयोजक छन् । टिका राम लामा (एन्फा केन्द्रिय सदस्य) र दामोदर भट्टराई (एन्फा सहायक महासचिव) समितिका सदस्य छन् ।
यद्यपि यो निर्णयमा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले असहमति जनाएका छन् । खड्काअनुसार ४ घन्टाको सूचनामा भिडिओ कन्फरेन्समार्फत् छानविन समिति गठन गर्ने निर्णयमा उनले सहमति जनाएका हुन् ।
अर्थ सन्जाल