नेपाल–बंगलादेश विद्युत् खरिद सम्झौता खुला गर्नुपर्छ : इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विद्युत् खरिद सम्झौता (पीपीए) पूर्ण रुपमा खुला गर्नुपर्ने बताएको छ । नेपाल र बंगलादेशबीच भएको ४० मेगावाट विद्युत् बिक्री सम्झौताको स्वागत गर्दै सरकारले लक्ष्य अनुसार विद्युत् उत्पादन र निर्यात गर्नको लागि निजी क्षेत्रको पनि उत्तिकै साथ लिनुपर्ने बताएको हो ।

इप्पानले निजी क्षेत्रलाई विद्युत् निर्यातका लागि अनुमतिपत्र दिनुपर्ने पनि बताएको छ । त्यसका साथै बैंक तथा वित्तिय संस्थाले ऊर्जामा लगानी बढाउने, उत्पादनका लागि थप सहुलियत घोषणा गर्नुपर्ने तथा आयोजना निर्माणका लागि देखिएका नीतिगत, प्रशासनिक तथा प्रक्रियागत समस्याको समाधानका लागि सरकार तत्पर हुनुपर्ने आवश्यकता औंल्याएको छ ।

‘भारत र बंगलादेशमा लक्ष्य अनुसारको विद्युत् निर्यातका लागि तत्काल नीतिगत र प्रक्रियागत सुधारका लागि पनि सरकारसँग आग्रह गर्न चाहान्छौं,’ इप्पानले भनेको छ । इप्पानले बंगलादेशसँग भएको सम्झौताले नेपालको बिजुलीको बजार खुलेको मात्र नभई, दुई देश र निजी क्षेत्रबीचमा ऊर्जा विकास तथा विस्तारका लागि सहकार्य, साझेदारी र लगानी आदानप्रदानका लागि पनि बाटो खुलेको बताएको छ ।

बंगलादेश सरकारले सन् २०३९ भित्र नेपालबाट ९ हजार मेगावाट आयात गर्ने लक्ष्य राखेको छ । नेपाल सरकारले आगामी १० वर्षभित्र ५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेको छ । लक्ष्यलाई कार्यान्वयन गर्नका लागि नेपालको निजी क्षेत्र सधैं तयार रहेको पनि इप्पानले बताएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *