नारायणघाटदेखि काठमाडौंसम्म ट्रेलर लगायतका ठूला सवारी सञ्चालनमा रोक

काठमाडाैं । यातायात व्यवस्था विभागले चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

विभागले सूचना निकालेर ट्रेलरलगायतका ठूला सवारीसाधन असोज १७ गते घटस्थापनादेखि कात्तिक १ गते पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय भएको जनाएको छ। ‘विभागले दसैँका बेला काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यस्तो निर्णय लिनुपरेको छ’, सूचनामा भनिएको छ, ‘तर, खाद्यान्नलगायतका अत्यावश्यक सामान बोकेका ढुवानीका सवारीसाधन भने चल्न पाइनेछ’, सूचनामा भनिएको छ।

प्रचलित कानुनबमोजिम आयातित मालबाहक सवारीको हकमा भन्सार प्रज्ञापन पत्र र निर्यातित मालबाहक सवारीको हकमा नियम अनुसारको राजश्व तिरेको रसिद हेरेर तेस्रो मुलुकका आयात/निर्यातजन्य ढुवानीका साधन भन्सार कार्यालय बन्द रहने अवधिबाहेक नारायणगढदेखि काठमाडौंसम्मको सडक खण्डमा आवतजावतमा रोक नलगाउने पनि निर्णय भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी, उपभोक्ता सम्बद्ध संस्था, ल्होत्से बहुउद्देशीय प्रालि, नाडा, सिप्रदी समेतका सरोकारवालसँग असोज ०८ गते छलफल गरेर यो निर्णय गरिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जारी गरेको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *