मलेखु (धादिङ) । धादिङ र काठमाडौँको सिमाना नजिकै धुनिवेशी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ ।
तीन वटा सवारी साधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारी साधन पुरिएको हुन सक्ने आशङ्कामा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो पन्छ्याएर पुनः खोजी गरिएको हो ।
झन्डै दुई सय मिटर माथिबाट झरेको पहिरोको सडकको कुना भागमा र सडकको तलतिर ठूलो थुप्रो लागेको थियो ।
दुइटा माइक्रोबस र एक ठूलो बस पुरिएको अवस्थामा फेला परेको स्थानमा एउटा कार पनि पुरिएको भन्ने आशङ्का रहेकाले पहिरोले थुप्रिएको माटोसमेत पुनः पन्छाएर खोजी गरिएको र पहिरोमा कुनै पनि सवारी साधन फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले बताए ।
निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर बुधबार बिहान पहिरोको गेग्य्रान पन्छाएपछि अहिले झ्याप्ले खोला क्षेत्रमा दुईतर्फी सडक खुलाइएको छ ।
सवारी साधन चापकै कारण जोखिमपूर्ण स्थानहरूमा जाम हुन नदिन काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधनलाई आलोपालो गरी आउजाउ गराइएको छ ।
निरन्तरको बर्सातसँगै शुक्रबार राति झ्याप्ले खोलामा पहिरो खसेको थियो ।






