राष्ट्र बैंकले नेप्सेसहित ७ संस्थामा रहेको शेयर बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सहित ७ संस्थामा रहेको शेयर बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको शेयर पुरै तथा आंशिक रुपमा बिक्रि गर्नलाई डेपुटी गभर्नर डा. निलम ढुंगानाको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा डेपुटी गभर्नर डा. ढुंगानासहित वित्तीय व्यवस्थापन विभाग, नियमन विभाग, सामान्य सेवा विभागका विभागीय प्रमुख रहेका छन् ।

राष्ट्र बैंकले आफ्नो शेयर स्वामित्व रहेका ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, राष्ट्रिय वीमा संस्थान, नेशनल बैंकिंङ इन्स्टिच्युट, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र, एग्रिकल्चर प्रोजेक्ट सर्भिस सेन्टरको शेयर बिक्रि गर्न लागेको हो ।

ग्रामिण विकास लघुवित्तमा २.७९ प्रतिशत, राष्ट्रिय बीमा संस्थानमा ५५.५५ प्रतिशत, नेशनल बैंकिंङ इन्स्टिच्युटमा १५.२९ प्रतिशत, राष्ट्रिय उत्पादकत्वमा ३१.५२ प्रतिशत र एग्रिकल्चर प्रोजेक्टमा ६.५ प्रतिशत शेयर राष्ट्र बैंक रहेको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्था अनुसार राष्ट्र बैंकले आफ्नो स्वामित्वमा भएको शेयर स्वामित्व पुरै तथा आंशिक विनिवेश गर्ने भएको हो । राष्ट्र बैंकको उद्देश्य मिल्ने प्रकृतिका संस्थामा १० प्रतिशत भन्दा बढी शेयर स्वामित्व हुन नहुने तथा उदेश्य नमिल्ने संस्थामा कुनै पनि स्वामित्व हुन नहुने कानुनी प्रावधानअनुसार नै विभिन्न संस्थामा रहेको शेयर बिक्रि गर्न लागेको हो ।

यसअघि राष्ट्र बैंकले नागरिक लगानी कोषमा रहेको आफ्नो १३.३४ प्रतिशत शेयर बिक्रि गरिसकेको छ भने नेपाल स्टक एक्सचेञ्जमा रहेको शेयर पनि आंशिक रुपमा बिक्रि गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *