


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूबीच हुने अन्तरबैंक कारोबार घटेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप रकम बढेको भए पनि कर्जाको माग बढेको छैन ।
त्यसैले प्रणालीमा अधिक तरलता छ । जसलाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले विभिन्न किसिमका मौद्रिक उपकरणहरू जारी गरेर वित्तीय प्रणालीबाट रकम प्रशोचन गर्दै आएको छ । राष्ट्र बैंकले ठूलो रकम तानेर लगेपछि बैंकहरूबीच हुने अन्तरबैंक कारोबार घटेको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार साउनमा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाले कुल ५२ अर्ब १५ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरूले ५१ अर्ब ५० करोड र अन्य वित्तीय संस्थाहरूले ६५ करोड गरी कुल ५२ अर्ब १५ करोडको कारोबार गरेका छन् ।
गत साउनमा भएको अन्तरबैंक कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ खर्ब तीन अर्ब रुपैयाँले कम हो । गत वर्ष साउनमा कुल छ खर्ब ५५ अर्ब ४४ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको थियो ।
जसमध्ये वाणिज्य बैंकहरूले मात्र पाँच खर्ब ६१ अर्ब ६७ करोड रुपैयाँ, विकास बैंक र फाइनान्स कम्पनीहरूले ९३ अर्ब ७७ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।
पछिल्लो समय अन्तरबैंक कारोबार रकम घटेकै आधारमा बैंकिङ क्षेत्रमा भारित औसत ब्याजदर पनि घटेको छ । जसअनुसार ०८० साउनमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर पाँच दशमलव ९२ प्रतिशत रहेकोमा २०८१ साउनमा यस्तो ब्याजदर घटेर दुई दशमलव ९४ प्रतिशतमा सीमित भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८० साउनमा पाँच दशमलव ८७ प्रतिशत रहेकोमा २०८१ साउनमा दुई दशमलव ९९ प्रतिशत रहेको छ ।
२०८१ साउनमा वाणिज्य बैंकहरूको औसत आधार दर सात दशमलव ६१ प्रतिशत, विकास बैंकहरूको नौ दशमलव २८ प्रतिशत र फाइनान्स कम्पनीहरूको १० दशमलव ७५ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको साउनमा वाणिज्य बैंकहरूको औसत आधार दर १० दशमलव ११ प्रतिशत, विकास बैंकहरूको ११ दशमलव ८७ प्रतिशत र वित्त कम्पनीहरूको १३ दशमलव २८ प्रतिशत रहेको थियो ।
२०८१ साउनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर पाँच दशमलव ६६ प्रतिशत, विकास बैंकहरूको छ दशमलव ४६ प्रतिशत र फाइनान्स कम्पनीहरूको सात दशमलव ७१ प्रतिशत रहेको छ ।
२०८० साउनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर आठ प्रतिशत रहेको छ । यस अवधिमा विकास बैंकहरूको भारित औसत ब्याजदर नौ दशमलव २८ प्रतिशत रहेको थियो भने फाइनान्स कम्पनीहरूको १० दशमलव १३ प्रतिशत कायम भएको थियो ।
त्यसैगरी २०८१ साउनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर नौ दशमलव ६८ प्रतिशत, विकास बैंकहरूको ११ दशमलव शून्य सात प्रतिशत र फाइनान्स कम्पनीहरूको १२ दशमलव ३२ प्रतिशत रहेको छ ।
२०८० साउनमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२ दशमलव २४ प्रतिशत, विकास बैंकहरूको १३ दशमलव ८८ प्रतिशत र फाइनान्स कम्पनीहरूको १४ दशमलव ६६ प्रतिशत थियो । आजको आर्थिक दैनिकबाटमा समाचार छ ।

अर्थ सन्जाल