नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा सुधार गर्न सकेका छैनन् । बैंक वित्तिय संस्थाहरुले कर्जा–निक्षेप अनुपात २०७९ असार मसान्तसम्ममा निर्धारित ९० प्रतिशतको सीमाभित्र कायम गर्नुपर्ने गरी केन्द्रीय बैंकले निर्देशन जारी गरेको थियो ।
सीडी रेसियो ९१ प्रतिशत माथि
तोकिएको भन्दा बढी भएमा बैंक तथा वित्तिय संस्थाहरुले २०७९ असार मसान्त भित्र तोकिएको अनुपात कायम गरिसक्नु पर्ने र यसका लागि तोकिएको कर्जा–निक्षेप अनुपातको अनुपालनाको लागि मासिक रुपमा अनुगमन हुने गरी निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्नुपर्ने भनिएको थियो ।
बैंकहरुमा लगानी योग्य कर्जाको अभाव भएपछि बैंकहरुलाई सीडी रेसियोमा खुकुलो नीति पनि बनाइ दिएको थियो । तर बैंकहरुले चैतको दोस्रो सातासम्ममा ९१. १३ प्रतिशत सीडी रेसियो रहेको छ । फागुन महिनामा पनि ९१ प्रतिशतकै हाराहारीमा सीडी रेसियो रहेको थियो ।
तरलताको अभाव भएपछि राष्ट्र बैंकले पुस १९ गते बैंक तथा वित्तीय संस्थाहरुलाई एक निर्देशन जारी गरी स्थानीय तहमा सञ्चित हुने रकमको ८० प्रतिशतसम्म रकम निक्षेपमा गणना गर्न पाउने छुट दिएको थियो । यसरी निक्षेपमा गणना गर्न पाउने प्रावधान पछि पनि बैंकहरुले कर्जा– निक्षेप अनुपातलाई ९० प्रतिशतभन्दा कममा ल्याउन सकेको छैन ।
बैंकहरुमा निक्षेप संकलनभन्दा पनि कर्जाको माग वढी भएपछि बैंकहरुलाई सीडी रेसियो मिलाउन हम्मे हम्मे भइरहेको एक बैंकर्सले बताए । गत फागुनमा निक्षेपमा केही सुधार भएपनि चैत दोस्रो साता पनि वाणिज्य बैंकहरुको निक्षेप संकलन दयनीय देखिएको छ ।
गत सातामा बैंकको निक्षेप संकलन र कर्जा लगानी बराबर देखिएको छ । ४ चैतसम्म २७ वाणिज्य बैंकको निक्षेप ४३ खर्ब २८ अर्ब रुपैयाँ थियो । ११ चैतसम्म निक्षेप जम्मा २ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । कर्जा लगानी पनि एक सातामा २ अर्ब रुपैयाँले नै बढेको छ ।
४ चैतसम्ममा बैंकहरुमा ४१ खर्ब ६८ अर्ब कर्जा प्रवाह भएको थियो । चैत १ सम्म आइपुग्दा कर्जा ४१ खर्ब ७० अर्ब पुगेको छ । ३० फागुनसम्ममा बैंकहरुमा ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप थियो भने ४१ खर्ब ७२ अर्ब रुपैयाँ ऋण लगानीमा थियो ।
चैतको दोस्रो साता बैंकहरुको कर्जा र निक्षेप समान २÷२ अर्ब रुपैयाँले बढेको छ । बजारमा तरलता अभावको चाप बढेसँगै बैंकहरुले कर्जा लगानीमा कडाई गरेको थियो । जसले गर्दा फागुनसम्ममा ४१ खर्ब ७२ अर्ब कर्जा रहेकोमा त्यो ४ चैतमा आएर ४१ खर्ब ६८ अर्बमा सीमित भएको थियो ।
नेपाल बैंकर्स संघका अनुसार ४ चैतदेखि ११ चैतसम्ममा नेपाली मुद्रामा निक्षेप २ खर्बले घटेको छ । कर्जा भने नेपाली मुद्रामा १ खर्ब बढेको छ । गत हप्ता विदेशी मुद्रामा निक्षेप वढ्दा बैंकहरुलाई केही सहज भएको यिो । ४ चैतसम्म ९७ अर्ब विदेशी मुद्रामा निक्षेप रहेकोमा ११ चैतसम्म आइपुग्दा १ खर्ब २ अर्ब पुगेको छ । विदेशी मुद्रामा कर्जा भने ४८ अर्बबाट ४७ अर्बमा आएको छ । नेपाली मुद्रामा कर्जा परिचालन ४१ खर्ब २२ अर्ब रहेको छ । यो गत हप्ताभन्दा १ अर्बले वढी हो । फागुनको अन्तिम हप्तामा कुल ४३ खर्ब ३३ अर्ब निक्षेप रहेकोमा चैतको पहिलो हप्ता ५ अर्बले निक्षेप घटेको थियो ।
सोही समयमा कर्जा पनि ४१ खर्ब ७२ अर्बबाट ४१ खर्ब ६८ अर्बमा सीमित भएको थियो । फागुनमा कर्जा घटाएका बैंकहरुले चैतमा भने वढाउन थालेका छन् । जसले गर्दा सीडी रेसियो ९१ दशमलव १३ प्रतिशत कायम भएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।







