काठमाडौं । उपभोग घट्दै गएका कारण आन्तरिक अर्थतन्त्र दबाबमा छ । बजारमा वस्तुको माग बढ्न सकेको छैन भने उद्योगीहरूले उत्पादन कटौती गरेका छन् ।
यही कारण बैंकहरूको कर्जा विस्तार पनि प्रभावित भएको छ । नयाँ कर्जा लिएर उत्पादन बढाउने स्थिति नहुँदा आन्तरिक अर्थतन्त्रमा दबाब महसुस भइरहेको छ ।
तर, अर्थतन्त्रको अर्को पाटो बाह्य क्षेत्रका सबैजसो सूचकहरू सकारात्मक छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिना साउनको तथ्याङ्कअनुसार शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स आप्रवाहलगायतका सूचकमा राम्रो सुधार भएको छ ।
साउनमा उपभोक्ता मुद्रास्फीतिमा पनि सुधार देखिएको छ । गत वर्ष साउनमा सात दशमलव ५२ प्रतिशत रहेको महँगी यस वर्षको साउनमा चार दशमलव १० प्रतिशतमा झरेको छ । सबैभन्दा धेरै महँगी तरकारीमा देखिएको छ ।
तरकारीको मूल्यवृद्धि १९ प्रतिशतभन्दा बढी छ भने दाल तथा गेडागुडी १२ दशमलव शून्य नौ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव १५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको तीन दशमलव ६६ प्रतिशत मूल्यवृद्धि भएको छ ।
रेमिट्यान्स आप्रवाह १८ प्रतिशत बढ्यो
गत साउनमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स पठाएका छन् । यो रेमिट्यान्स गत वर्ष साउनको तुलनामा १८ प्रतिशत बढी हो । गत वर्ष साउनमा एक खर्ब १६ अर्ब रुपैयाँबराबर रेमिट्यान्स भित्रिएको थियो ।
अमेरिकी डलरमा भने रेमिट्यान्स आप्रवाह एक अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो ।
साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार नौ सय २८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार छ सय ४७ छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९ हजार एक सय ५२ र १६ हजार चार सय २३ रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात खुद ट्रान्सफर रकम भने एक खर्ब ४८ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय एक खर्ब २८ अर्ब २१ करोड थियो ।
विदेशी मुद्रा सञ्चिति करिब २१ खर्ब
यस आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशी मुद्राको सञ्चिति पनि उल्लेख्य बढेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति दुई दशमलव पाँच प्रतिशतले बढेर २०८१ साउन मसान्तमा २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ साउन मसान्तमा दुई प्रतिशतले बढेर १५ अर्ब ५८ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ साउन मसान्तमा एक दशमलव नौ प्रतिशत बढेर १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थासँग विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ साउन मसान्तमा आठ दशमलव चार प्रतिशतले बढेर दुई खर्ब आठ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।
२०८१ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव छ प्रतिशत रहेको छ ।चालू आर्थिक वर्ष २०८१÷८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६ महिना २१ दिनको वस्तु आयात र १३ महिना १५ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ ।
२०८१ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३६ दशमलव सात प्रतिशत, एक सय १२ दशमलव पाँच प्रतिशत र ३० दशमलव तीन प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३५ दशमलव आठ प्रतिशत, एक सय आठ दशमलव छ प्रतिशत र २९ दशमलव तीन प्रतिशत छ ।
शोधनान्तर स्थिति झण्डै ४१ अर्ब बचतमा
मुलुकको शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको साउनमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति चालू समीक्षा अवधिमा ३० करोड ५१ लाखले बचतमा छ ।
चालू खाता पनि ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा देखिएको छ । गत वर्ष साउनमा चालू खाता १३ अर्ब ३७ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १० करोड १३ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा २३ करोड चार लाखले बचतमा छ ।
गत साउनमा मुलुकको खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रुपैयाँ छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर २७ करोड २६ लाख रुपैयाँ कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) दुई अर्ब ६५ करोड रहेको थियो ।
सेवा आय १५ अर्ब घाटामा
मुलुकको खुद सेवा आय घाटामा देखिएको छ । गत साउन महिनाको तथ्याङ्कअनुसार मुलुकको खुद सेवा आय १५ अर्ब २६ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ११ अर्ब २५ करोडले घाटामा थियो ।
गत साउनमा सेवा खाताअन्तर्गत भ्रमण आय आठ दशमलव एक प्रतिशतले बढेर चार अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार अर्ब ४० करोड रुपैयाँ थियो ।
गत साउनमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३० दशलव चार प्रतिशतले बढेर २२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्पको व्यय १४ अर्ब ९२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १७ अर्ब २६ करोड रहेकोमा शिक्षातर्फको व्यय १० अर्ब ७५ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । आजको आर्थिक दैनिकमा समाचार छ।
अर्थ सन्जाल