काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले आज असोज ११ गते शुक्रबारदेखि १७ लाख ५० हजार २४८ कित्ता शेयर लिलामीमा राखेको छ । खरिदकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।
यसअघि कम्पनीले १५० प्रतिशत (१ करोड २० लाख कित्ता) हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले बिक्रीमा राखेको शेयरमा आवेदन नपरेपछि बाँकी शेयर कम्पनीले लिलामीमा ल्याएको हो । आवेदन दिने अन्तिम म्याद असोज २० गतेसम्म रहेको छ ।
यसर्थ, बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल, काठमाडौं नबिल बैंकको बिर्तामोड शाखा, विरगञ्ज शाखा, हेटौडा शाखा तथा जावलाखेल शाखाबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नबिल बैंककै लेकसाईट पोखरा शाखा, नेपालगञ्ज शाखा, बराहताल शाखा सुर्खेत, र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।
Artha Sanjal
अर्थ सन्जाल