काठमाडौं। नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार साउन २०८१ सम्म २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर विदेशी विनियम सञ्चिति पुगेको हो ।
असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब रुपैयाँ थियो ।
एक महिनामा २.५ प्रतिशतले विदेशी मुद्रा सञ्चिति बढेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति अब १५ अर्ब ५८ करोड पुगेको छ । असार मसान्तसम्म १५ अर्ब २७ करोड डलर थियो ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ साउन मसान्तमा १.९ प्रतिशतले वृद्धि भई १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।
साउनसम्म रहेको विदेशी विनिमय सञ्चिति नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा ३६.७ प्रतिशत देखिन्छ । कुल आयातको ११२.५ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगको अनुपातमा यसको हिस्सा ३०.३ प्रतिशत छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ साउन मसान्तमा ८.४ प्रतिशतले वद्धि भई २ खर्ब ८ अर्ब ७९ करोड रुपैयाँ कायम भएको छ । २०८१ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।
अर्थ सन्जाल