सुस्तामा बन्यो देशकै लामो झोलुंगे पुल, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

बर्दघाट। निर्माण सम्झौता भएको झण्डै दश वर्षपछि सुस्तामा झोलुंगे पुल बनेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ मा नेपालकै लामो पुल बनेको हो । आज (असोज १० गते) राष्ट्रपति रामचन्द्र पौडेलले पुलको उद्घाटन गर्दैछन् ।

राष्ट्रपति पौडेल आज दिउँसो २ बजे हेलिकप्टरबाट सुस्ता आउने कार्यक्रम तय भएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व्रबहादुर कुँवरले जानकारी दिए ।

पुल निर्माणसँगै आफ्नै वडा कार्यालयमा जान पनि सुस्ताबासी भारतको बाटो भएर जानुपर्ने बाध्यता हटेको हो । नारायणी नदिमा एक हजार पाँच सय ५८ मिटर लामो पुल निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दा खुुसी छन् । ‘यो पुल हाम्रा लागि लाइफलाइन हो, सुस्ताका रविन्द्र जयसवालले भने, ’निर्माण ढिलो भएपनि विगतमा आफ्नै देशको भूमिभित्र जान पनि भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो । अब बाध्यताबाट हामी मुक्त भएका छौं ।’

२०७० सालमा सम्झौता भएको यो झोलुंगे पुल तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । साढे २३ करोडमा त्रिशुली आश्रय जेभी कन्ट्रक्नसले निर्माणको ठेक्का पाएको यो पुल असारमा निर्माण सम्पन्न भएको हो ।

स्थानीय जयसवालका अनुसार २०७४ सालको दोस्रो संविधानसभा निर्वाचनबाट यहि क्षेत्रबाट निर्वाचित सांसद देवकरण कलवारले पुलको काम अगाडि बढाउन निर्माण कम्पनीलाई दवाव दिनुका साथै सरकारसँग निरन्तर पहल गरेका थिए ।

पछिल्लो दुई वर्षयता पुल निर्माणको कामले गति लिएको हो । यस क्षेत्रबाट निर्वाचित सांसद विनोद चौधरीले पुल समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनी र सरकारसँग निरन्तर समन्वय गर्दै आएका थिए । उनले शहरी विकास मन्त्रालयलाई आवश्यक बजेट निकासाका लागि पहल गर्नुका साथै निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न ताकेता गरेका थिए ।

सांसद चौधरीले सुस्ता पुलले नेपाली भूमि जोड्ने काम गर्नुका यहाँका नागरिकको दैनिकीमा पनि ठूलो प्रभाव पार्ने बताए । ‘आफ्नै भूमिभित्र जान पनि अर्काे देशको बाटो भएर जानुपर्ने बाध्यताको अब अन्त्य भएको छ । यो अत्यन्तै पीडादायी अवस्था थियो नवलपरासी सुस्ताको,’ उनले भने, ‘लामो समयसम्म पुल निर्माण कार्य सम्पन्न भएन । ढिलै भएपनि पुल निर्माण सम्पन्न भएको छ । अब यसले यो क्षेत्रका नागरिकको जीवनमा त खुसी ल्याउँछ नै, यो क्षेत्रकै आकर्षक पर्यटकीय गन्तब्य बन्नेछ ।’ उनले यो पुलले सुस्ताको भूगोल मात्रै नजाडी यहाँका नागरिकको भावनालाई पनि जोडेको बताए ।

नारायणी नदिमा पुल बनेपछि सुस्तापारी पहिलो पटक विजुली पुगेको छ । करिव ३५० घरधुरी रहेको सुस्तापारी पुलकै बाटो भएर विजुली लगिएको हो । झोलुंगे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना हुने गरी दायाँ–बायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्तामा विद्युत् पु¥याइएको हो ।

सांसद चौधरीले निर्वाचित भएलगत्तै विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङसँग सुस्ताम विद्यतुीकरणका लागि पहल गरेका थिए । यसैबीच सांसद चौधरीले सुस्तापारीका बासिन्दालाई सहुलियतमा विजुली उपलब्ध गराउन सरकारसँग पहल सुरु गरेका छन् । उनले उर्जा मन्त्रालय र विद्युत प्राधिकरणलाई लिखित पत्र पठाउँदै सहुलियतको विजुलीका लागि आग्रह गरेका हुन् ।

‘हाम्रो पहिलो प्राथमिकतामा सुस्तालाई पुलले जोड्ने र त्यहि पुलबाट विजुली लैजाने प्रवन्ध गर्ने थियो । यो दुबै काम एकैपटक सम्पन्न भएको छ । अब सरकारले यहाँका नागरिकलाई सहुलियतको विजुली उपलब्ध गराउनुपर्छ, त्यसका लागि हाम्रोतर्फबाट सम्पूर्ण रुपमा पहल भइरहेको छ । यसमा पनि सकारात्मक परिणाम आउने विश्वास छ,’ उनले भने । सुस्ता पुलले यहाँको पर्यटन विकासमा ठूलो योगदान पुग्ने स्थानीयको विश्वास छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *