काठमाडाैं । मेलम्ची खानेपानी आयोजना अन्र्तगत काठमाण्डौंका सडकमा बिछ्याउँदै गरिएका पाईपका गणस्तरमा प्रश्न उठेको छ । आयोजना कार्यान्वयन निर्देशनालय ‘पिआईडी’ ले चिनबाट पाईप ल्याउन र बिछ्याउन जिम्मा दिएको हुवासुई कम्पनीले बदमासी गरेको भन्दै नेपाली ठेकेदार कम्पनीले पत्रकार सम्मेलन नै गरेको छ ।
मंगलबार काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै प्रकृति पुजन निर्माण एण्ड सप्लार्यसले राष्ट्रिय गौरवको आयोजनाको काम माथि नै गम्भिर प्रश्न उठाएको छ ।
गत शनिबार कुपण्डोलको मुख्य सडक नै भासिएर पानी निस्कनु, केहि महिनाअघि सोह्रखुट्टेमा सडक भासिएर चालक र यात्रुसहित मोटरसाईकल सडकभित्र खस्नु तथा माछापोखरी क्षेत्रमा खानेपानीको पाईप फुटेर जनताको घर पसल जलमग्न हुँदैगर्दा प्रकृति पुजनले उठाएको विषयले अझै काठमाण्डौंका सडकमा यसअघि नै बिछ्याईएका पाईपको गुणस्तरीयताबारे थप सशंकित बनाएको छ ।
प्रकृति पुजनका सञ्चालक जनकराज घिमिरेले सुन्दरीजलदेखि गोकर्ण हनुमानचोकसम्म आफुहरुले बिछ्याएको पाईपको गुणस्तरीयता तथा मुख्य ठेकेदार कम्पनीले खटाएको ईञ्जिनियरको निर्देशनमा गरेको काममा नै समस्या देखिएको बताए । ‘मैले १६ सय मिटरमा पाईप बिछ्याउने काम गरेँ । पानीको प्रेसर टेष्ट गर्दा समस्या देखियो । खनेर हेर्दा पाईप थिचिएर अण्डाकार भएको देखियो । माटोको लोड पाईपले धान्न नसकेको देखियो । यो मेरो कमजोरी भन्दापनि पाईपको गणस्तरीयता र हुवासईकै ईञ्जिनियरको समस्या हो’ घिमिरेले बताए ।
प्रकृति पुजनका सञ्चालक घिमिरेका अनुसार हुवासईका सञ्चालक किरण वैद्यले झण्डै डेढ करोड रुपैयाँ निकासा रोक्का गरेका छन् । ‘मैले काम गरेको डेढ करोड रुपैयाँ निकासा नदिई किरण वैद्य सम्पर्कविहिन हुनुहुन्छ । अफिसमा गए गेट नै खोल्नुहुन्न । फोन उठाउनुहुन्न । उल्टै अदालतमा हिसाब फरकफरकको लागि मद्धा दर्ता गरेर पानी माथिको ओभानो हन खोज्नुभयो’ घिमिरेको भनाई छ ।
आयोजना कार्यान्वयन निर्देशनालय पिआईडीका पुर्वनिर्देशक राजेन्द्र सापकोटाले भने आयोजनाको पाईपको गणस्तर कमजोर नरहेको दाबी गर्दै मुख्य ठेकेदार हुवासई र प्रकृति पुजनको लेनदेनको विषय भएको बताए । ‘२ किलोमिटर मात्र १८ सय एमएमको पाईप बिछ्याइएको हो । यो विषय जनक घिमिरे र मख्य ठेकेदारको लेनदेन मात्रै हो’ सापकोटाले भने । तर काठमाण्डौंका एकपछि अर्को ठाउँमा खानेपानीकै पाईप फटेर पानी चुहिएर सडक भासिएको विषयलाई यति हल्का रुपमा मात्रै लिन सकिदैन । चावहिल चोक तथा सिफल क्षेत्रमा सडक लगातार भासिदाँ समेत जिम्मेवार निकाय गम्भिर नभई उल्टै टालटुल गर्ने काममा व्यस्त छ ।
किरण वैद्यले रकम भुक्तानी नगर्दा मजदुरहरुलाई पारिश्रमिक दिन नसकेकाले आफु समस्यामा परेको घिमिरेको भनाई छ । ‘एक्साभेटर मेसिन तथा लेबरको पारिश्रमिक, कोठाभाडा, बालुवा गिट्टी, ढुंगाको पैसा दिन सकेको छैन । बैंकको ब्याज समेत तिर्न सकेको छैन । उल्टै पत्रिकामा नाम आएको छ । गाली बेईज्जती तथा मान्छेहरुले घर घेर्ने, घरको सामान उठाउने जस्ता काम भएकाले म मर्नु न बाँच्नुको हालतमा छु’ उनले भने । यसबारे बुझ्न किरण वैद्यको कार्यालयमा पुग्दा उनले भेट गरेनन । हामीले पटक पटक फोन सम्पर्क गर्दा सम्पर्कमा नआउनु, उनको कार्यालयको सुरक्षागार्डले केहि अघि निस्किएका वैद्य एकैछिनमा बिरामी छन् । कहिले आउँछन थाहा छैन भन्नु जस्ता प्रसंगले पनि वैद्यले नेपाली ठेकेदारलाई कतिसम्म मारमा पारेका छन् भन्ने आशंका गर्ने ठाउँ छ ।
पत्रकार सम्मेलनमार्फत घिमिरेले आफ्नो समस्यालाई पिआईडीले समेत गम्भिरताका साथ नलिएको बताए ।
अर्थ सन्जाल