काठमाडौं । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज असोज २ गते फेरि एकैपटक २५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ ।अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो।
केन्द्रीय बैंकले आज २१ दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो । यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्नेछ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल जान नदिन नियमित रुपमा तरलता खिच्दै आएको छ । असोज २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
अर्थ सन्जाल