काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी नयाँ नियम ल्याएको छ । बैंकले असोज १ गतेदेखि लागु हुनेगरी यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
बैंक खाता रोक्का तथा फुकुवाका लागि विभिन्न कानुनहरूले व्यवस्था गरे पनि त्यसको व्यवस्थित नियमावली बनेको थिएन । यसले गर्दा यससम्बन्धी अन्यौलतालाई हटाउन यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।
नयाँ व्यवस्था अनुसार कुनै पनि बैंक खाता रोक्का गर्दा सम्बन्धित व्यक्तिले सम्बन्धित व्यक्तिको आधिकारिक परिचयपत्र, तीन पुस्ते र खाता रोक्का राख्नु पर्नाको कारण प्रस्ट गर्नु पर्नेछ । त्यस्तै, कम्पनी वा संस्था भएमा फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा उपलब्ध गराउनुपर्ने जनाइएको छ ।
कुनै व्यक्तिको निश्चित खाता मात्रै रोक्का राख्नुपर्ने अवस्थामा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैंकको विवरण तथा आंशिक खाता रोक्का राख्नुपर्ने भएमा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम र खाता रहेको बैंकको विवरण उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ ।
राष्ट्र बैंकले प्रचलित कानुनबमोजिम कुनै कसुरको अनुसन्धानको सिलसिलामा अधिकारप्राप्त अधिकारीले राष्ट्र बैंकसमक्ष खाता रोक्का वा फुकुवाका लागि अनुरोध जनाएको छ । यसरी उल्लेख गर्दा प्रचलित कानुनको व्यवस्था प्रस्ट नभएको अवस्थामा राष्ट्र बैंक खाता रोक्का तथा फुकुवा गर्न निर्देशन दिन बाध्य नहुने प्रस्ट पारिएको छ ।
अदालतको आदेशको अवस्थामा भने राष्ट्र बैंकको निर्देशन आवश्यक नहुने नियमावलीमा उल्लेख छ । नियमावलीले बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाको सेटलमेन्ट प्रयोजनका लागि इजाजतपत्रप्राप्त संस्थामा रहेको खाता रोक्का नहुने जनाएको छ । रोक्का तथा फुकुवाका लागि स्वचालित प्रणाली बनाउने बाटो समेत नियमावलीले खुला गरेको छ ।
अर्थ सन्जाल