काठमाडाैं । आरती पावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँका दरले ३६ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको निमित्त ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच शेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौतासमेत सम्पन्न भएको छ । बिहीबार आयोजित कार्यक्रममा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष भरत बहादुर खत्री र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
वि.सं. २०७२ सालमा प्रालिको रुपमा दर्ता भएर वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको उक्त कम्पनीको अधिकृत पूँजी १ अर्व ४० करोड रुपैयाँ, जारी पूँजी पनि १ अर्व ४० करोड रुपैयाँ र चुक्तापूँजी १ अर्ब ०४ करोड रुपैयाँ छ ।
कम्पनीले ३६ करोड रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । माथिल्लो इर्खुवा जलविद्युत् आयोजना कोशी प्रदेशको भोजपुर जिल्लामा अवस्थित छ । आयोजना क्षेत्र भोजपुरको प्रमुख ऐतिहासिक सहर मध्येको एक दिङ्लाबाट करिब १२ किलोमिटर उत्तर पश्चिममा पर्दछ ।
आयोजना स्थल साल्पा सिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा पर्दछ । परियोजनाको मुख्य संरचना जस्तै हेडवर्क, सर्ज ट्यांक र पावरहाउस इर्खुवा खोलाको बायाँ किनारमा अवस्थित छ ।
१४.५ मेगावाट क्षमताको क्षमता भएको यो आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिएर यथाशक्य चाडो विद्युत् वितरण कार्य गरिने योजना रहेको कम्पनीले बताएको छ ।उक्त कम्पनीमा हाइड्रो क्षेत्रलगायत अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुको लगानीे छ ।
अर्थ सन्जाल