मोबाइल बैंकिङ्ग मार्फत हुने भुक्तानी ६० प्रतिशतले बढ्यो, पौने ४ खर्बको कारोबार

काठमाडौं । नेपालमा पछिल्लो समय डिजिटल कारोबार र भुक्तानी दुवैमा निरन्तर बढोत्तरी हुँदै गइरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार इन्टरनेट प्रयोगकर्ताको पहुँच बढेसँगै डिजिटल कारोबारमा पनि बढोत्तरी आएको देखिएको हो ।

पछिल्लो एक वर्षमा मोबाइल बैकिङ मार्फत हुने भुक्तानी ६० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा मोबाइल बैकिङ मार्फत ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६०.२० प्रतिशत धेरै हो ।

अघिल्लो आवमा भने २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार मोबाइल बैकिङ मार्फत भएको थियो ।

गत आर्थिक वर्षमा कुल ४ करोड ५६ लाख ६९ हजार ३ सय १ पटक मोबाइल बैकिङ मार्फत भुक्तानी भएको छ । हाल मोबाइल बैकिङ प्रयोगकर्ताको संख्या भने २ करोड ४६ लाख ४८ हजार ८४६ पुगेको छ । अघिलो आर्थिक वर्षको तुलनामा ३२ लाख ८४ हजार ८५७ जना मोबाइल बैकिङ प्रयोगकर्ताहरु थपिएका हुन् ।

राष्ट्र बैंकका अनुसार नगदसहित आरजिटिएस, एटिएम र डिजिटल कारोबारका लागि कनेट आइपिएस, इ–कर्मश, इन्टरनेट बैंकिङ्ग , मोबाइल बैंकिङ्ग, वालेट, क्युआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का प्रयोगकर्ता बढेको पाइन्छ । राष्ट्र बैंकका अनुसार क्विक रेस्पोन्स (क्युआर), मोबाइल बैंकिङ्ग, वालेट लगायतका उपकरणमा सर्वसाधारणको बढी नै आकर्षण बढेको हो ।

गत आवको १२ महिनामा क्यूआर कोड मार्फत ६१ अर्ब ७३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । क्यूआर पेमेन्ट्स एक वर्षमै १०५ प्रतिशत वृद्धि भएको हो । अघिल्लो आवको अन्त्यसम्म भने ३० अर्ब १४ करोड ८० लाख रुपैयाँ भुक्तानी भएको थियो । गत आर्थिक वर्षभरीमा २ करोड ८ लाख २५ हजार ६१५ पटक क्यूआर कोड मार्फत कारोबार भएको छ ।

यस्तै वालेट मार्फत गत आर्थिक वर्षमा ३१ अर्ब ३० करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सो अवधिमा ३ करोड १२ लाख ६९ हजार २८६ पटक वालेट मार्फत भुक्तानी भएको हो । अघिल्लो आर्थिक वर्षमा वालेट मार्फत २० अर्ब ३२ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो । हाल नेपालमा वालेट प्रयोगकर्ताको संख्या २ करोड ३४ लाख ६१ हजार १०७ पुगेको छ। अघिल्लो आवको तुलनामा भने यस्तो संख्या ४५ लाख १९ हजार ३१४ थपिएको हो ।

गत आर्थिक वर्षमा कनेक्ट आइपिएस मार्फत ६ खर्ब ६६ अर्ब ५८ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, ईलेक्ट्रोनिक चेक क्लियरेन्स (ईसीसी) मार्फत ६ खर्ब ७२ अर्ब ७ करोड ५५ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ। त्यस्तै रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत ६४ खर्ब ५१ अर्ब १६ करोड रुपैयाँ बराबरको भुक्तानी भएका छन् । यता, एटीम कार्ड मार्फत ९१ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

राष्ट्र बैंकका अनुसार डेबिट कार्ड मार्फत ९५ अर्ब २६ करोड र क्रेडिट कार्ड मार्फत २ अर्ब ७ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । यता, इन्टरनेट बैंकिङ्ग मार्फत भने १७ अर्ब ७३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

कुन भुक्तानी सुविधाबाट कति भयो कारोबार ?

मोबाइल बैकिङ्ग– ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ
क्यूआर कोड– ६१ अर्ब ७३ करोड ७० लाख रुपैयाँ
आरटीजीएस– ६४ खर्ब ५१ अर्ब १६ करोड रुपैयाँ
एटीएम– क्यास वीथ ड्र– ९१ अर्ब २६ करोड रुपैयाँ
इलेक्ट्रोनिक चेक क्लियरिङ्ग (ईसीसी)– ६ खर्ब ७२ अर्ब ७ करोड ५५ लाख रुपैयाँ
कनेक्ट आईपीएस– ६ खर्ब ६६ अर्ब ५८ करोड ३० लाख रुपैयाँ
रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) – ६४ खर्ब ५१ अर्ब १६ करोड रुपैयाँ
डेविट कार्ड– ९५ अर्ब २६ करोड रुपैयाँ
क्रेडिट कार्ड– २ अर्ब ७ करोड ३० लाख रुपैयाँ
इन्टरनेट बैंकिङ्ग – १७ अर्ब ७३ करोड ८० लाख रुपैयाँ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *