काठमाडौँ । सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश दिएको छ ।
भदौ १६ गते ३० वर्षे सेवा अवधि सकिएर अवकासमा जान लागेका प्रहरी अधिकृतहरुले दायर गरेको संयुक्त रिट निवेदनमा न्यायाधीश हरि फुयालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो। ३० वर्षमा अवकास पाउने प्रहरी नियमावलीको कार्यान्वयन नगर्न पनि सर्वोच्चले भनेको छ।
‘निवेदकहरु तथा निवेदक जस्तै अवस्थामा रहेका प्रहरी कर्मचारीहरुलाई मिति २०८१।५।१६ वा उक्त प्रहरी नियमावलीको नियम १२७ (घ) बमोजिको ३० वर्षे अवधीको आधारमा सेवाबाट अवकास हुने भनि दिइएका पत्राचारहरु हाललाई कार्यान्वयन नगर्नु नगराउनु र त्यस्तो आधारमा कसैलाई कुनै पत्राचार नगर्न नगराउनू भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ।’सर्वोच्चको आदेशमा भनिएको छ। सर्वोच्चले उनीहरुको जिम्मेवारी हेरफेर गर्न पनि आदेश दिएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित नेपाल प्रहरीका २१ जना अधिकारीले आफूहरुलाई ३० वर्षे सेवा अवधिका आधारमा १६ भदौमा अवकाशमा पठाउन खोजिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखानालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका थिए ।
अर्थ सन्जाल