काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले निक्षेप सुरक्षणवापत सर्वसाधारणको बैंक खातामा रहेको १४ खर्ब ३० अर्ब ४६ करोड रूपैयाँ निक्षेपको सुरक्षणको प्रत्याभूती गरेको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा कोषले २०८०/२०८१ को मसान्तसम्ममा ५६ वटा बैंक तथा वित्तीय संस्थाका ४ करोड ५७ लाख ९५ हजार खातामा (प्राकृतिक व्यक्तिका) रहेको उल्लिखित रकम बराबर निक्षेप सुरक्षण गरिएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७९/२०८० असार मसान्तमा ४ करोड १३ लाख ८१ हजार खातामा प्राकृतिक व्यक्तिका नाममा रहेको १२ खर्ब ३२ अर्ब ९५ करोड निक्षेप सुरक्षण गरिएको थियो ।
हालको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थामा रहेको ५ लाख रुपैयाँ सम्मको बिमा हुनुपर्ने व्यवस्था छ । यो व्यवस्था संस्थाका नाममा खुलेका खातामा रहेको निक्षेपमा पाइँदैन । अर्थात् कुनै एउटा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स वा लघुवित्त वित्तीय संस्थामा कुनै व्यक्तिको नाममा रहेको निक्षेप रकमको अधिकत्तम ५ लाख रूपैयाँसम्मको निक्षेप फिर्ता पाउने गरी प्रत्याभूति गरिएको छ । यस प्रावधान अन्तर्गत कुनै बैंक वा वित्तीय संस्था वित्तीय संकटमा परेको अवस्थामा कोषले प्रत्येक निक्षेपकर्ताको निक्षेपवापतको रकमको अधिकत्तम ५ लाख रूपैयाँ निक्षेप फिर्ता दिनेछ ।
निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको २ खर्ब ९६ अर्ब ४५ करोड बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा (नेपाल सरकारको ब्याज अनुदानमा प्रवाह भएको सहुलियतपूर्ण कर्जासमेत) सुरक्षण गरेको छ । २०८० असार मसान्तमा २७४ अर्ब ५५ करोड रुपैयाँ बराबरको यस्तो कर्जा सुरक्षण गरिएको थियो ।
अर्थ सन्जाल