काठमाडौं । गत आर्थिक वर्षमा शोधनान्तर बचत ५ खर्ब नाघेको छ । एक आर्थिक वर्षमा अहिलेसम्मकै उच्च शोधनान्तर बचत हुँदा चालु खाता बचत पनि सवा २ खर्ब नाघेको छ ।
आइतबार नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ को आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोड रुपैयाँले बचतमा रहेको थियो । अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब १७ करोड (अमेरिकी डलर)ले बचतमा रहेको शोधनान्तर स्थिति गत वर्ष ३ अर्ब ७७ करोड डलरले बचतमा रहेको हो ।
सार्वजनिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षको भुक्तानी सन्तुलत ५ खर्ब २ अर्ब ४९ करोड बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । वैदेशिक व्यापार करिब स्थिर जस्तै हुँदा रेमिट्यान्स र सेवा क्षेत्रमा देखिएको सुधारले शोधनान्तर बचत सँगै चालु खाता बचत पनि उच्च दरमा बढेको हो ।
आर्थिक वर्ष २०८०/८१ मा चालु खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा शोधनान्तर स्थिति बचतमा नै भएपनि चालु खाता घाटामा थियो । उक्त वर्ष चालु खाता ४६ अर्ब ५७ करोडले घाटामा थियो ।
गत आर्थिक वर्षमा पूँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई ५ अर्ब ८१ करोड पुगेको छ । खुद प्रत्यक्ष वैदेशिक लगानीमा भने केही सुधार देखिएको छ । गत आर्थिक वर्षमो खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ४० करोड कायम भएको छ । आर्थिक वर्ष २०७९/८० मा यस्तो लगानी ६ अर्ब १७ करोड मात्रै थियो ।







