काठमाडौं । एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा १६.५ प्रतिशत धेरै हो ।
गत आर्थिक वर्षमा भन्दा यस वर्ष एक खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको हो । आव २०७९/८० मा रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स यस वर्ष १० अर्ब ८६ करोड भित्रिएको छ । यो गत आवको तुलनामा १४.५ प्रतिशत धेरै हो । अघिल्लो आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशत धेरै भित्रिएको थियो ।
उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १ सय ३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १ सय ९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७ सय ४ र २ लाख ७७ हजार २ सय ७२ रहेको थियो ।
अर्थ सन्जाल