काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छिट्टै मुलुकमा शतप्रतिशत विद्युतिकरण घोषणा हुने बताएका छन् । शनिवार नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।
घिसिङले ८ वर्षअघि करिब ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत सेवा अहिले करिब ९९ प्रतिशतभन्दा बढीमा पुगेको भन्दै सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानको सबैभन्दा ठुलो सफलता नै यही भएको बताए ।
कार्यकारी निर्देशक घिसिङले हिउँद याममा अझै केही महिना विद्युत आयात गर्नुपरे पनि आयातको परिणाम क्रमशः घट्दै जाने बताए । उनले सुकुम्वासी, चेपाङ र मुसहर लगायतका विपन्न वर्गहरूलाई निःशुल्क मिटरसहितको विद्युत सेवा उपलब्ध गराइएको पनि बताए ।
कार्यकारी निर्देशक घिसिङले प्राकृतिक र प्राविधिक कारणले केही क्षण बत्ती जाने र आउने हुने गरेको भन्दै लोडसेडिङ इतिहासको विषय भइसकेको बताए । उनले वर्षा याममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न र व्यापार घाटा कम गर्न सक्ने अवस्थामा पुगेको बताए ।
अर्थ सन्जाल