काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक र ऋणीलाई हेर्ने कानुन फरक हुनुपर्नेमा जोड दिएका छन् । ऋणीसँगै बैंकर समेत जेल जाने स्थिति बनेको भन्दै कानुन फरक-फरक बनाउनु पर्नेमा गभर्नर अधिकारीले जोड दिएका हुन् ।
शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
छलफलमा गभर्नर अधिकारीले भने, ‘बैंकरले व्यवसाय चल्छ कि चल्दैन भनेर निर्णय गर्ने विषय हो । पैसा ऋणीले नै लैजाने हो, कानुनको प्रयोग गरिराख्दा ऋणी र बैंकरलाई एकै ठाउमा राखेर हेरियो । यसकारण ऋणीसँगै बैंकर पनि जेल जानु पर्ने स्थिति आएको छ ।’
गभर्नर अधिकारीले बैंकरमाथि ऋणीले ऋण लिने समयमा मिलेमतोमा लिएको भने मात्रै बैंकरलाई पनि अनुसन्धान गर्नुपर्ने व्यवस्था राख्न आग्रह गरे ।
गभर्नर अधिकारीका अनुसार अहिले बैंकहरुमा कर्मचारीहरूले खल्तीबाट कलम ननिकाल्ने स्थिति रहेको बताए । उनले ऋण दिएर किन आफूलाई जोखिममा पार्नु भन्दै काम गर्न बैंकरहरु डराइरहेको बताए ।
बैंकविरुद्ध गतिविधि गर्नेलाई कारबाही गर्नुपर्ने धारणा गभर्नरको छ । उनले बैंक तथा वित्तीय संस्थाविरुद्ध गतिविधि गर्नेलाई पनि बैंकिङ कसुर अनुसार कारबाही गर्नुपर्ने बताए । उनले वित्तीय स्थायित्व विरुद्ध अघि बढ्ने जो कोही कारबाहीको भागिदार हुनुपर्ने बताए । उनले पैसा नतिरौँ भन्ने अभियानले अहिलेसम्म पनि असर पारिरहेको भन्दै यस्ता गतिविधिलाई रोक्न कानुन बनाउने अवसर समेत भएको बताए ।
गभर्नर अधिकारीले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०लाई पुनर्लेखन गर्नुपर्ने बताए ।
अर्थ सन्जाल