काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले हुन्डी कारोबारलाई नियन्त्रण गरि वैधानिक बाटोबाट विप्रेषण भित्र्याउन आवश्यक रहेको बताएका छन् । आइएमई र जिएमई रेमिट गाभिएर आजदेखि आइएमई लिमिटेडका रुपमा एकीकृत कारोबार सुरु भएको अवसरमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै मिश्रले विदेशमा रहेका नेपालीलाई वैधानिक माध्यमबाट मात्रै नेपालमा पैसा पठाउन आग्रह गरे ।
विदेशबाट सजिलो तरिकाले रेमिट्यान्स आप्रवाहका लागि नेपाल राष्ट्र बैंकले नीतिगत सहजता गर्ने प्रतिवाद्दता व्यक्त गरे। हाल मुलुकको कुल गार्हस्थ्य उत्पादनमा विप्रेषण करिब २४ प्रतिशत हाराहारी रहेकोले अवैध हुन्डी नियन्त्रण र वैधानिक बाटोबाट विप्रेषण भित्रिन सके त्यसबाट अर्थतन्त्रमा थप योगदान पुग्ने मिश्रले बताए ।
एकीकृत कारोबारको शुभारम्भमा डेपुटी गभर्नर मिश्रले राष्ट्र बैकको प्राथमिकताबमोजिम औपचारिक अर्थतन्त्र निर्माणमा आइएमई रेमिट्यान्सको योगदान सशक्त रहेको बताए । डेपुटी गभर्नर मिश्रले रेमिट्यान्स सेवालाई सहज एवम् थप प्रविधियुक्त र सुलभ बनाउन पनि मर्जरले योगदान दिने बताए ।
अर्थ सन्जाल