काठमाडौँ । अबदेखि सबै सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन अनिवार्य रुपमा जीपीएस र सिटि क्यामरा जडान गर्नुपर्ने भएको छ । गृह मन्त्रालयले आज यातायात व्यवसायी राष्ट्रिय महासंघलाई एक पत्र काट्दै १२ बुँदे निर्देशन दिएको हो ।
मन्त्रालयले यात्रुको परिचय खुल्ने कागजात लिएर मात्र टिकट काट्न र यात्रा गराउन, अनलाइन टिकट प्रणालीको विकास गरी कार्यान्वयन गर्न र मुलुकभरचल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवार्य गर्न समेत निर्देशन दिएको छ।
मन्त्रालयले सबै चालक तथा सहचालकलाई रोजगार सम्झौता अनिवार्य गर्नुका साथै न्यूनतम तलब वा ज्यालाको व्यवस्था गरी सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न, शिष्ट, सभ्य र यात्रुमैत्री व्यवहारका लागि यातायात मजदुरलाई प्रशिक्षित गर्न, चालकहरूलाई सुरक्षित ड्राइभिङ सम्बन्धी नियमित रुपमा तालिम दिने, ट्राफिक नियमको पालना गर्न प्रेरित गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन कठोर निगरानी गर्न समेत महासंघलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सीसीटीभीसँगै ट्रान्सपोन्डरको व्यवस्था गर्न तथा सम्पूर्ण सवारी साधनमा जीपीएस ट्र्याकिङ प्रणाली जडान गर्ने र तीव्र गति नियन्त्रण गर्न सवारी साधनमा गति सीमित गर्ने उपकरण जडान गर्ने निर्देशन दिएको छ ।
अर्थ सन्जाल