काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निजी क्षेत्रलाई पनि आफूले हेर्न पाउने गरी कानुन बनाउन गरेको प्रस्तावमाथि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रश्न उठाएका छन् ।
भ्रष्टाचार निवारण ऐनको संशोधन गर्न बनेको विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार भएको छलफलमा उनले भने, ‘मेडिकल कलेज लगायतका सार्वजनिक संस्था भने परिभाषित गर्न किन चाहेको? निजीस्तरका यस्ता संस्थालाई नियमन गर्ने निकाय पनि हामीकहाँ छँदै छन्। नियमनकारी निकायलाई अख्तियारले हेर्न सकिहाल्छ।’
भ्रष्टाचारका मुद्दामा हदम्याद राख्न नहुने भन्दै यो विषयमा उनले अख्तियारको पनि स्पष्ट धारणा खोजेका छन् ।
‘हदम्यादका सम्बन्धमा हामीभित्र व्यापक छलफल भएको छ। बहस भइरहेको अवस्था छ। सार्वजनिक पदमा बसेको व्यक्तिले सार्वजनिक सम्पत्तिमा हानी पुर्याउँछ भने त्यस सम्बन्धमा हदम्याद लाग्दैन, व्यक्तिगत रूपमा भ्रष्टाचार गर्छ र सार्वजनिक सम्पत्तिको क्षति पुर्याएको छैन भने निश्चित अवधिभित्र अनुसन्धान सक्नुपर्छ भनेर आएको हो भन्ने मैले बुझेको हो। यसले त कन्ट्राडिक्ट गर्यो। कहाँनेर विरोधाभाष भयो भने हामीले एकातिर पदमा बसेका व्यक्तिका सम्बन्धमा जति समय गरे पनि हुन्छ भन्ने भयो त्यो कारणले गर्दाखेरि छलफलमा आएको र हामीले संशोधन राखेका छौं जुन बेलामा आवश्यक पर्यो त्यो बेला छलफल होला,’ उनले भने।
नेपालमा सबैभन्दा राम्रोसँग मिलेर भ्रष्टाचार हुने गरेको भन्दै हदम्याद राख्न नहुनेमा उनले जोड दिए ।
अर्थ सन्जाल