काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको कुल बीमा शुल्क, खुद नाफा लगायत इपीएस समेत बढेको छ ।
समीक्षा अवधिमा कम्पनीले ६९ करोड २३ लाख रुपैयाँ मुनाफा कमाएको छ । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ८० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा ३७ करोड ९३ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो। नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५२ पैसाबाट बढेर २४ रुपैयाँ ६७ पैसा पुगेको छ ।
कम्पनीले यस अवधिमा एक अर्ब ९८ करोड ८४ लाख रुपैयाँ खुद बीमा शूल्कआर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा एक अर्ब ११ करोड ६३ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन थियो जुन ७८.१२ प्रतिशतले बढी हो। समीक्षा अवधिसम्ममा कम्पनीले २ अर्ब १४ करोड ३३ लाख रुपैयाँ कुल बीमा दावी भुक्तानी गरेको छ ।
समिक्षा अवधिमा कम्पनीले ४ अर्ब ११ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवको यस अवधिमा दुई अर्ब ९४ करोड नौ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको थियो । जुन ४० प्रतिशतले बढी हो ।
यस कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यस कम्पनीको प्रतिशेयर नेटवर्थ २७३ रुपैयाँ ५० पैसा रहेको छ भने कम्पनीको रिजर्भ फण्ड २ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।







