काठमाडौं। स्थानीय श्रोत, सीप, साधन र श्रमको समुचित प्रयोग गरी गरिब तथा विपन्न वर्ग र दूरदराजका समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यले विक्रम सम्बत् २०४८ साल साउन २८ गते स्थापना भएको स्वावलम्बन विकास केन्द्रले एक समारोहका बीच ३३ औँ वार्षिकोत्सव मनाएको छ ।
शताब्दी पुरुष तथा बरिष्ठ चिकित्सक डा. गौरी शंकर लाल दासको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहको सभापतित्व केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले गरेका थिए । समारोहलाई सम्बोधन गर्दै डा.दासले लघुवित्त सेवा पछिल्लो समय सहर र धनीवर्ग केन्द्रित भएको आरोप लागेको सन्दर्भ उल्लेख गर्दै लघुवित्तलाई गरिब र विकट कर्णाली जस्तो दुरदराजमा पुगेर सेवा दिन आग्रह गरे । साथै उनले सेवा भावले गरेको कार्यले पछि सम्म सन्तुष्टि दिने धारणा राख्दै आफ्नो प्रयासमा २०४८ सालताका स्थापना गरेका वीपी नेत्र प्रतिष्ठान, प्रौढ कल्याण संघ, पूर्व कर्मचारी सेवा परिषद् आदि जस्ता सेवामूलक संस्थाहरुले अहिले समाजमा निकै राम्रो काम गरेको कारण आफूलाई निकै सन्तुष्टि मिल्ने गरेको बताए ।
सो अवसरमा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लघुवित्तलाई सही बाटोमा हिडाउन र सामाजिक रुपान्तरणको अस्त्रको रुपमा प्रभावकारी बनाउन स्वावलम्बन विकास केन्द्र लागि परेको उल्लेख गरे । यसका साथै पछिल्लो समय लघुवित्तलाई एउटा सामाजिक व्यवसायको अभियानका रुपमा अंगाल्न पहल गर्ने र धनी झन् झन् धनी बन्ने र गरीब झन् गरीब बन्ने अहिलेको अवस्थाको अन्त्य हुने गरी नयाँ सभ्यता विकासमा काम गर्न प्रेरित गर्न शुरुवात गरेको जानाए ।
सो अवसरमा उनले चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनले पारित गरेको घोषणापत्रको अक्षरशः पालना गरे लघुवित्त पुरानै सुनौलो युगमा फर्कन सक्ने धारणा राखे । सो अवसरमा उनले केन्द्रको ३३ वर्षे यात्राका सहयात्री, सहकर्मी, सहयोगी र साझेदार संस्था तथा व्यक्तिहरुलाई आभार ब्यक्त गरे ।
सो अवसरमा केन्द्रका उपाध्यक्ष महेन्द्र कुमार गिरीले केन्द्रको ३३ वर्षे यात्रा सस्मरण गरेका थिए । सो अवसरमा उनले शुरुका दिनमा कर्णालीका विकट जुम्ला, कालिकोट लगायतका जिल्लाबाट स्वावलम्बन सामुदायिक विकास कार्यक्रम शुरु गरेको, केही पछि पूर्वी तराई तीनवटा जील्लाबाट लघुवित्त कार्यक्रम शुरु गरेको र लघुवित्त कार्यक्रमको सबै दायित्व स्वावलम्बन लघुवित्त वित्तीय संस्थालाई हस्तान्तरण गरी हाल केन्द्रले लघुवित्तको विकास र प्रवद्र्धनको लागि राष्ट्रिय सञ्जालको रुपमा काम गरी रहेको बताए ।
अर्थ सन्जाल