काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई/मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन् ।
मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा आज एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौँ–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ ब्रेक थ्रु गरेका हुन् । निजगढ–कामाठाडौँतर्फको एक दशमलव छ सय ५३ किमी धेद्र्रे सुरुङ भने गत जेठ ११ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ ।
धेद्रे सुरुङ छिचोलिएसँगै प्याकेज नं दुईअन्तर्गतका सबै सुरङ खोल्ने काम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई अवगत गराउँदै आयोजनाको भौतिक प्रगति ३५ दशमलव ९८ प्रतिशत रहेको जानकारी दिए । लेनडाँडामा रहेको निजगढ–काठमाडौँतर्फको एक दशमलव ६ सय १२ किमी र काठमाडौँ–निजगढतर्फको एक दशमलव ६ सय ३३ किमी सुरुङ यसअघि नै खनिसकिएको छ ।
तीन दशमलव तीन सय २२ किमीको निजगढ–काठमाडौँतर्फको महादेवटार सुरुङ¬ हालसम्म दुई दशमलव २९ किमी तथा तीन दशमलव तीन सय ८६ किमीको काठमाडौँ–निजगढतर्फको दुई दशमलव दुई सय ८८ किमी सुरुङ खनिसकिएको छ । सो सुरुङ यसैवर्ष सम्पन्न गर्नेगरी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।
अहिले ६.५ किलोमिटरदेखि ७०.९७७ किलोमिटर सड्क खण्डमा काम भइरहेको छ । तर, सुरुआती बिन्दुबाट ६.५ किलोमिटर खण्डमा भने विवादका कारण काम सुरु हुन सकेको छैन । ललितपुरको खोकनाबाट बाराको निजगढ निस्कने गरी द्रुत मार्ग बन्दैछ ।
सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गरेका थिए । सरकारले २०७४ साउन २७ गते सडक विभागबाट सेनालाई आयोजना हस्तान्तरण गरेको थियो । सो अवरसमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही तथा नेपालका लागि चीन र दक्षिण कोरियाका राजदूत उपस्थिति रहेका थिए ।
अर्थ सन्जाल