काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको नाफा ३ करोड बढेको छ ।
गत वर्ष बैंकले १ अर्ब २७ करोड ९१ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा २.४८ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब २४ करोड ८२ लाख २६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत वर्ष बैंकको खुद ब्याज आम्दानी १.९२ प्रतिशत बढेर ४ अर्ब १८ करोड ३० लाख रुपैयाँ कायम भएको छ । बैंकको संचालन पनि १.५० प्रतिशत बढेर १ अर्ब ८४ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष बैंकले आफ्ना सेयरधनीहरुलाई ४.७१ प्रतिशत लाभांश दिन सक्ने नाफा कमाएको हो । बैंकको वितरणयोग्य नाफा ३३ करोड १८ लाख ४४ हजार रुपैयाँ छ ।
हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ छ। बैंकले जगेडा तथा कोषमा भने ३ अर्ब ५० करोड २७ लाख रुपैयाँ राखेको छ ।
हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १८ रुपैयाँ १५ पैसा छ । प्रतिसेयर नेटवर्थ भने १४९ रुपैयाँ ७१ पैसा छ । बैंकसँग हाल २.२६ प्रतिशत खराब कर्जा छ ।
अर्थ सन्जाल