काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
जसअनुसार बैंकले ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१३ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६ पैसा घटेर १६ रुपैयाँ ६५ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ११.६६ गुणा रहेको छ। यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड रुपैयाँ रहेको छ।
बैंकको खुद ब्याज आम्दानी पनि २.७४ प्रतिशत घटेको छ । खुद फि तथा कमिशन आम्दानी भने२९.९० प्रतिशत बढेको छ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी २.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८.२५ प्रतिशत घटेको छ। यसअवधिमा बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ७४ करोड पुगेको छ।
यस अवधिसम बैंकको चुक्ता पूँजी ३६ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ सञ्चित रहेको छ। यस अवधिमा बैंकको निक्षेप संकलन १४.३४ प्रतिशत र कर्जा लगानी ४.२३ प्रतिशतले बढेको छ।
अर्थ सन्जाल