स्काइ वाक टावर सञ्चालनपछि भेडेटारका व्यवसायी उत्साही

धनकुटा । पर्यटकीयनगरी भेडेटारमा स्काइ वाक टावर सञ्चालनमा आएपछि यहाँका होटेल व्यवसायीहरु उत्साही बनेका छन् । वोन्डर्स एम्युजमेन्ट पार्कस् एण्ड एट्रयाक्सन्स प्रालिले धनकुटा साँगुरीगढी गाउँपालिका–६ मा ११ रोपनी क्षेत्रफलमा २० कारोड लगानीमा स्काइ वाक टावरको शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो ।

टावर सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्नेमा यहाँका पर्यटन व्यवसायीहरु आशावादी बनेका छन् । होटेल संघ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले टावर सञ्चालनपछि पर्यटकीय गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे ।

“टावरको उद्घाटनमा पनि पर्यटकको आगमन बढेको छ, अब यहाँका होटेलको व्यापार सुधार हुने अपेक्षा लिएका छौँ”, उनले भने ।

लामो समयदेखि होटेल व्यवसायमा संलग्न होटेल अरुण टपका सञ्चालक रमेश श्रेष्ठले होटेलको व्यापारसँगै यस क्षेत्रको कृषि उपज बेचबिखनमा समेत सहयोग पुग्ने बताए ।

होटेल संघका भेडेटारका पूर्वअध्यक्ष तथा होटेल लावती कर्नरका सञ्चालक लिलाराज लावतीले पनि यहाँ सञ्चालित एक सयभन्दा बढी ठूला होटेललाई यस परियोजनाले महत्वपूर्ण सहयोग पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *