


काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले समग्र बैंकिङ क्षेत्रमा खस्केको मनोबल र गुमेको आत्मविश्वासलाई उच्च बनाउने पहलकदमीहरू अवलम्बन गर्न अर्थमन्त्री विष्णु पौडेलसँग आग्रह गरेको छ । सीबीफीनका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल नेतृत्वको टोलीले अर्थमन्त्री पौडेलसँग भेटघाट गर्दै सो आग्रह गरेको हो ।
परिसंघको तर्फबाट बधाई तथा शुभकामना ज्ञापन गर्दै अध्यक्ष उपेन्द्र पौडेलले लगानी र व्यवसायमैत्री नीति र वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक सङ्कुचन आएको, वित्तीय संस्थाहरूको खराब कर्जा एवं जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीयरुपमा वृद्धि भएको र पुँजीकोषमा दबाब परेको बताए । उनले बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउने र कर्जा नतिर्नका लागि गरिएका दुरुत्साहनका कार्यहरू निरुत्साहित हुन नसकेको, प्रस्तावित बाफियाका केही नीतिगत प्रावधानहरूले बैंकिङ लगानीकर्ताहरूमा व्यापक नैराश्य पैदा गराएको र क्रमशः यस क्षेत्रबाट लगानीकर्ता र कर्मचारीहरू समेत पलायन हुने क्रम बढेकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराए ।
त्यसै गरी परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले पछिल्लो समयमा बैंकिङ क्षेत्रको वास्तविकतालाई नहेरी/नबुझी अथाह कमाएको दुष्प्रचार गर्दै मुलुकको अर्थतन्त्रको आधार स्तम्भ मानिएको बैंकिङ क्षेत्रमाथि चौतर्फी प्रहार भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।

अर्थ सन्जाल