वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गरेका ८ जना उद्यमीलाई पुरस्कार प्रदान

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशबाट नेपाल फर्किएर नेपालमै विभिन्न क्षेत्रमा लगानी गरेका ८ जना उद्यमीहरूलाई पुरस्कृत गरेको छ । मन्त्रालयले उनीहरुलाई मन्त्रालयमै बोलाएर खादा, नगद र प्रमाणपत्रसहित सम्मान गरेको हो ।

मन्त्रालयले झापा गाउँपालिका ३ झापाका चन्द्र प्रकाश बस्नेतलाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । उनी एग्री सेन्टर झापा प्रालिका सञ्चालक हुन् । उनलाई मन्त्रालयले १ लाख ५० हजार नगदका साथ सम्मान गरेको छ ।

त्यस्तै, ७ उद्यमीहरु उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनेहरुमा गुल्मीका रविलाल पन्थ, झापाका मोहन प्रसाद संग्रौला, जुम्लाका टक्क बहादुर नेपाली, कन्चनपुरका चन्द्र सिंह थापा,नुवाकोटका अर्जुन परियार, म्याग्दीका भुपेन्द्र शर्मा र बाराका हिराबहादुर थापा छन् । उनीहरु सबैले ७५ हजार नगदका साथ प्रमाणपत्र पाएका छन् ।

उत्कृष्ट उद्यमीहरुलाई सम्मान गर्दै श्रममन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई फर्किएर नेपालमा नै रोजगार गर्न सक्ने वातावरण बनाउन सरकारले प्रयास गरिरहेको बताए ।

उनले सकेसम्म नेपालीलाई विदेश जानै नपरोस् भनेर काम गरिरहेको उल्लेख गर्दै उनले बाध्यताले विदेशीएर फर्किएका नेपालीलाई पुन : विदेशीनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले प्राथमिकता दिएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *