म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालिगण्डकी नदीमा निर्माण शुरु हुन लागेको मध्य कालिगण्डकी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । आईएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागेको ६६.३ मेगावाट क्षमताको आयोजनामा नबिल बैंक लिमिटेडको अगुवाइमा ६ वाणिज्य बैंकले नौ अर्ब १२ करोड लगानी गर्ने भएका हुन् ।
हाइड्रो सपोर्ट प्रालि प्रवर्धक रहेको यस आयोजनाको बाँध अन्नपूर्ण-३ सुकेबगरमा र विद्युत् गृह अन्नपूर्ण-२ ठूलोबगर क्षेत्रमा प्रस्ताव गरिएको छ । चार हजार मिटर सुरुङ रहने यो आयोजनाको विद्युत् गृहदेखि फोरवेको उचाइ ११५ मिटर हुनेछ ।
केही दिनअघि नबिल बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापनको सम्झौता भएको मध्य कालिगण्डकीको पूर्वाधार निर्माणको तयारी गरेको आयोजना प्रमुख चन्द्र ढकालले राससलाई जानकारी दिए । सन् २०२४ मा भौतिक निर्माण शुरु हुने आयोजना चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आईएमई समूहका अध्यक्षसमेत रहेका ढकाल र बैंकहरुको तर्फबाट सहवित्तीयकरणको नेतृत्व गरेको नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गरेका थिए ।
कूल १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको यस आयोजनामा ७५ प्रतिशत लगानी नबिलसहित एभरेष्ट बैंक लिमिटेड, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले गर्ने भएका छन् । २५ प्रतिशत प्रवर्धक र सेयर लगानीकर्तामार्फत जुटाइने भएको छ ।
नबिल बैंकले तीन अर्ब १२ करोड, एभरेस्ट बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दुई-दुई अर्ब र नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले एक-एक अर्ब लगानी गर्नेछन् । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर ८.४० र वर्षायामको दर ४.८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाटबाट एक अर्ब नौ करोड र वर्षामा २७७ गिगावाटबाट एक अर्ब ३३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ ।
मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालिगण्डकी नदीबाट पाँच जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । यी आयोजना निर्माणको तयारीसँगै कालिगण्डकी ऊर्जा नदीमा रुपान्तरण हुन लागेको छ । घाँसादेखि मिलनचोकसम्म कालीगण्डकीमा करिब ४०० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् ।
अर्थ सन्जाल