काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेका १०० दिन पूरा भएको अवसरमा आफूले गरेका कामको विवरण सार्वजनिक गरेका हुन् ।
उप्रेतीले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुने बताएका छन्। उनले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग नेपाली सेनाको कारणले नभई राज्यको तर्फबाट नै आवश्यक ऐन, कानुन, नियम नबनाउँदा र नियमन हुन नसक्दा ढिलाइ भएको बताए।
उनले अहिले द्रुतगतिमा काम भइरहेको र यही हिसाबले काम भइरहे २०८३ सालको चैत्रसम्ममा काम सम्पन्न भई सवारी सञ्चालन हुने प्रतिबद्धता जनाए।
उनले भने,’अब द्रुत गतिमा अघि बढेको छ। यही गतिमा अघि बढेको खण्डमा हामीले तोकेको २०८३ चैत्रसम्ममा त्यहाँको बाटोबाट मोटर गुड्नेछ।’
मन्त्रालयले सय दिनमा चीन सरकारबाट सहयोगस्वरूप प्राप्त भई दर्ता हुन नसकी विगत लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका ९५ वटा सवारीसाधनको दर्ता गराएको, काठमाडौँ/तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको मुआब्जा वितरणका लागि लाग्ने पुँजीगत लाभकर छुट दिने व्यवस्था मिलाएको बताएको छ।
नेपाली सेनाद्वारा निर्माणाधीन विभिन्न करिडोर सडकमा कार्यरत सुरक्षाकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने, रक्षा मन्त्रालयको कार्यसम्पादनमा चुस्तता ल्याउन कार्यसम्पादन कार्यविधि, २०८० कार्यान्वयनमा ल्याइएको जनाएको छ।
अर्थ सन्जाल